रङ्गमञ्च


कविता

रङ्गमञ्च

हरेक श्वासले उमेर फाल्दैछ।
कति श्वासले सपना फालिसके।
खै कति फोक्सो श्वास चाहिने र'छ,
काँध थिचेका जिम्मेवारी फाल्नलाई।
"जिम्मेवारी" अर्को बडेमानको अनुभूति।
अनुभूति या अरू केही?
खोइ!
रङ्गमञ्चले जे माग्दछ -
"कहिले हँसिलो मुहार।
कहिले बादलिएको अनुहार।
कहिले आँखाबाट निस्केका राप।
कहिले जुनसँगको सन्ताप।"
मनको किन माग्दो हो र!
बुझेको छ रङ्गमञ्चले
मन कहाँ मनकारी छ र।
बरु फोक्सो माग्दछ।
फोक्सोले अन्तिम अन्तिममा -
बल्लतल्ल भरेको घडा माग्दछ।
अनि शून्य!
नदी मिसिन्छ समुन्द्रमा।
समुन्द्रले निलिदिन्छ -
नदीको सुस्सकेरा।
पर्दा लाग्दछ रङ्गमञ्चको!!

रङ्गमञ्चले के माग्दछ?
अर्को थान फोक्सो।
अर्को घडा श्वास।
अर्को थान नदी।
बस् -
रङ्गमञ्च चलिरहोस्।
रङ्गमञ्च चलिरहोस्।

Comments

Popular posts from this blog

तछाडमछाड..!!

ऊ कहाँ हुन्छ आफ्नो? नजिकै हुन्छ या टाढा?

मुक्तक भलाकुसारी