बुके-फूल

    Image Credit : Chitwan_agri_hub
         

कविता              
बुके-फूल

फोरा उठेका करले 
सिङ्गो घर उचाल्नुपर्ने 
अर्को कर थपिदिन्छ।
रहर नलागी नलागी
टप्प टप्प टिपेर
प्लास्टिकको कपडामा
सजाएर
कसैको दिल सजाउन
व्यापारीले नाम दिएछन् -
बुके-फूल।

ठ्याक्कै बाह्र महिनापछि
तिम्रो आकृतिलाई
मेरा आँखाले भेट्टाउँदा
तिम्रो सुवासलाई
मेरा नाकले पहिल्याउँदा
मेरा हातमा थमाइदिएकीत्यो रगतजस्तो रा...तो
काँडा निकालिएको
झट्टै नओइलाओस् भनेर
अनेक प्रयत्न गरिएको
प्लास्टिकभित्रका
ती सजीव फूललाई
म नियालिरहेछु।

फूलका पत्ताले -
म निर्जीव भइसकें भन्छन्।
म तिम्रो जीवन्त रहर हेरेर,
तिमी सजीव नै छौ भन्छु।
मेरा हात काटिएका छन्
काँडालाई इंगित गर्दै भन्छन्।
म तिम्रा पखेटा हालेका सपना हेरेर,
तिमी सुन्दर छौ भन्छु।
मलाई सुन्दरताको परिभाषा सिकाउँछौ?
फूलका पात गम्कन थाल्छन्।
म जून हेर्छु,
म तिमी हेर्छु,
अनि
म मेरा हातमा तिमीले थमाइदिएकी फूल हेर्छु।
उही फूलको पत्ताले सम्झाउँछन् -
जूनमा देखिने दागको पाटो,
तिम्रो देब्रे गालाको कोठी,
आँखीभौंनिरको डण्डीफोर,
निधारमा लडेर बनेको टाटो।

अनि सोध्छन् -
कहिले लैजान्छौ
मेरा हात फालिदिएजस्तै,
उनका कोठी फालिदिन।

Comments

Popular posts from this blog

तछाडमछाड..!!

मुक्तक भलाकुसारी

ऊ कहाँ हुन्छ आफ्नो? नजिकै हुन्छ या टाढा?