मुक्तक भलाकुसारी

५० मुक्तक


ऋ:
इन्द्रेणीको घुम्टोबाट चिहाएर हेर्दा
हतारिँदै बटारिएको नदीसँग आफ्नै शरीर फेर्दा
सुस्त सुस्त आफूसँग आफैं छुटिए जस्तो
मन्द मन्द मुस्कान छरी आफ्नै चित्र केर्दा

अ:
भो भो नचिहाऊ, जूनै डाह गर्ला,
धर्ती झर्ने नदी, तर्ने चाह गर्ला,
आफू जस्तै छर्लङ्ग अर्को भेटिएपछि..
ऐना हेर्दै खुशी, हुँदै वाह गर्ला।

ऋ:
यमुनाको वारीबाट कुसुम बगाउँला
जमुनाको पारी पुगी नजर फर्काउँला
आकाश धर्ती एउटै ठानी फन्को मारे जस्तै
गंगातटमा हवन गरी जीवन थन्काउँला

अ:
बगेको कुसुम मसम्म आएन भने,
नजर भित्र मेरो चित्र अटाएन भने,
२०मा मरी ८०मा जल्नुको पीडा..
त्यो जलनले शङ्ख ध्वनि पाएन भने।

ऋ:
कड्किएको पवनसँगै भड्किएको सास
अन्धकारको पछ्यौरीमा अड्किएको आस
कदम कदममा भारी हुँदै थाक्दै गएको घडी
बन्नु भन्दा अगाडी कल्पनामै भत्किएको बास

अ:
छिट्टै थाकी कहाँ पुग्ने किन बिसाउँछौ र,
तेल र पानी जबरजस्ती किन मिसाउँछौ र,
एक त्यान्द्रो सपना, एक मुठी सास भए..
जाबो बासलाई जीवनसँग किन रिसाउँछौ र!!

ऋ:
बाच्छोबाट छुटाएको मरेतुल्य माउ
काँडैकाँडाले भरिएको हाँसो बन्चित ठाउँ
कसरी जानू जहान छोडी काकाकुल म सुन्न
कुइरोको बादलले ढाक्ने त्यो गाउँ

अ:
कुनै छुटले कतैको भेट गरायो भने,
भेटसँगै मीठो कफी डेट गरायो भने,
जहान छोडी बाटो मोड कहाँ भनें मैले..
मन नबुझी काँडेतारको गेट गरायाे भने।

ऋ:
कफीको उड्दो बाफसँगै चिसिँदै गएको क्षण
कसरी सम्हालौंला आफूमै हार्दै गएको मन
हरेक सुस्केरामा कण कण बिम्ब छोड्दै जाँदा
के गरी थामौंला वर्ष शताब्दी कुरेको तन?

अ:
एक्लै सम्हाल्न नसकेर साथी चाहिएको होला,
मन मिल्ने सबैभन्दा माथी चाहिएको होला,
जिताउनेले हराउँछन् र पो चिन्न जान्नुपर्छ..
मुन्टो हल्लाउँदै हस् भन्ने जाती चाहिएको होला।

ऋ:
आँशुलाई क्रोधको आगोमा बिस्तारै मिसाउँदै जाँदा
आँफूमा नै पलपल सुस्तरी एटम बम जन्माउँदै जाँदा
आकाशमा डुल्ने कालो बादलले आँखा ढाक्ने रहेछ
कलिको कालले छेकेको बाटो अँगाल्न खोज्दै जाँदा

अ:
क्रोधको आगोमा आँशु कहाँ बल्छ र,
धर्तीमाथि आकाश त्यसै कहाँ ढल्छ र,
लौ त सेतो बादलले वर्षा गराओस्..
निथ्रुक्क नभिजी जीवन कहाँ चल्छ र।

ऋ:
त्यो वर्षाको मात केही गरी बौलायो भने
त्यो पारी पागल मनको डढेलो मौलायो भने
के बचाउन सकौला र भने जस्तै आफूलाई?
ती लुब्ध आँखाले डाँडा वारीका जून औंलायो भने

अ:
मनको डढेलो त डरलाग्दो भन्छन्,
वर्षामा खहरे रहरलाग्दो भन्छन्,
बौलाउन देऊ न कति जानेको छ..
डाँडा वारीकै जून भरलाग्दो भन्छन्।

ऋ:
यदि वसन्तको बास्नामा द्वेष लुकी आए
यदि शिशीरको जाडोसँगै राग ओइलाई गए
बिचल्ली भई कसरी पो बसूँला र एक्ली म?
यदि बीच बाटोमा नै सन्देहले यो डोरीलाई खाए

अ:
जिन्दगी न हो कति पाउने कति गुमाउने,
ओभानो देखिने अलिकति अनि डुबाउने,
डोरी छोड बरु पुल गासौँ न वारी पारी..
दुइटा मुटु दुई किनारा खै कति घुमाउने।

ऋ:
तलाउबाट निस्केर फेरी कुवामै के पर्नु र
बाटोमा नै पोखिएर सकिने घैंटो के भर्नु र
यतिका सम्म साँचि राखेको यो अनौठो यात्रा
सकिने बेलामा बाटो मोडी त्यो पुल के तर्नु र?

अ:
समुद्रमा जान हुन्थ्यो पौडिन नसकौला,
अलिक पर पुग्न हुन्थ्यो दौडिन नसकाैला,
साँचेर राखेको साँचो त हराउँछ कहिलेकाहीँ..
ताला भेटिने आशमा बाटो मोडिन नसकौला।

ऋ:
पौडिन त हुन्थ्यो तर मलाई त डुब्न मन छ
त्यो गहिराई भित्रको लुकेको राज रोज्न मन छ
यी सबै अनुमतिको घेराभन्दा बाहिर उठेर
साँचोबिनाको ताल्चा हुने ढोका खोज्न मन छ

अ:
तार्छु भन्दै डुबाएर छाड्यौ भने नि,
मोती टिपी अन्तैतिर लाग्यौ भने नि,
साँचो ताल्चा सबै सबै सुम्पिन मन छ..
कुना कुना रित्ताएर भाग्यौ भने नि।

ऋ:
दुई दिनको चिनजानलाई सबै सुम्पिन नखोज न
यो बिरहको भाकालाई सबै सुन्दिन नखोज न
मलाई पुग्यो, म आत्तिसकें, आफैंमा थाकिसकें
मनै लोभ्याउने गरी सपना तिमी बुन्दिन नखोज न

अ:
जिन्दगी नै दुई दिने, चिनजानको के दोष?
सन्नाटालाई आवाज सुनसानकाे के दोष?
अघाएँ 'अब कहिल्यै खान्न' हाय राख्नुहुन्न..
आफैं मार्ने सपना, विचरा अवसानको के दोष?

ऋ:
खहरेले संसार बगाई सक्यो, अझै पर कति सर्नु होला
यता मन रित्तिई सक्यो, यो झोली कति भर्नु होला
सयौँ युग बिते होलान्, बानी पर्यो यहि सन्नाटाको
त्यहि आश्वासनकै आशमा भित्रभित्रै कति मर्नु होला

अ:
आशै आशमा आशे भएर नबस्नु,
गाँठो पर्ला अप्ठेरो बेस्सरी नकस्नु,
शून्यता भित्रको मौनतामा हिँड्दा हिँड्दै..
सोचेझैं जिन्दगी कठै खरानी नधस्नु।

ऋ:
वनचरी उड्न थाल्यो, मनचरी डुल्न थाल्यो
गगनको मगन अनि हँसाईमा नै भुल्न थाल्यो
महिनौँ पछि हाँसेको त्यो सूर्यमुखी जस्तै
पत्र पत्र खुलेसरी त्यो बोलीसँगै खुल्न थाल्यो

अ:
मनचरीलाई धेरै मन डुल्न नदिनु,
घर छोडी पराई आँगन भुल्न नदिनु,
मख्ख पार्दै खुशी लुट्ने स्वार्थी दुनियाँमा
हाँसो दिनु आफ्नो रोदन खुल्न नदिनु।

ऋ:
पिँजडाबाट छुट्कारा पाई बल्ल फुल्न जानेको
दशकौं गुम्सिए पछि लामो सास तान्न जानेको
यो उमंग कता गई पोखूँ, कसलाई सुनाऊँ
शिशिर नाच्ने बेलामा वसन्त बल्ल खेल्न जानेको

अ:
न हाँस्न सक्यौ न रुन नै सक्यौ,
न तीता तरेली ती धुन नै सक्यौ,
सम्झौता, संघर्ष, समय कस्तो पापी..
बुझेझैं लाग्यो न बुझाउन नै सक्यौ।

ऋ:
सायद दाग नहुँदो हो त चन्द्रमा त्यति राम्रो हुन्थेन
सायद राग नहुँदो हो त मुनामदन कसैले गुन्थेन
सजिलै सबै कुरा त कहाँ बुझ्न सकिन्छ र
सलल जिन्दगी बग्दो हो त सपना कसैले बुन्थेन

अ:
चन्द्रमालाई त्यसरी दोष नलगाऊ,
हराएको दोभानमा जोस नलगाऊ,
जे भो बितिगो बुझ्छु भन्दै नहिँडे..
बगिराछ, जबरजस्ती तोस नलगाऊ।

ऋ:
यो बाँझो मनलाई सिंचाई गरीदिएको त्यो खोली
यति छिट्टै हिजोलाई बिर्सी कसरी जाउँला र भोली
दिन बित्यो, महिनौँ बित्यो, वर्षौं बितिसक्यो
के गरी छोडूँ जतनसाथ राखेको माया त्यो तौली

अ:
चिरा चिरा परेका गरा देखेर,
कहालीलाग्दो कहानीको जरा देखेर,
गुलेली ताक्दै शिकारी भेटिएलान्..
जमीनमा एक्लो घाइते चरा देखेर।

ऋ:
गरे सकिन्छ भन्दैमा मरुभूमिमा ईनार के खन्नु
पानी छ भन्दैमा तलाउलाई सागरमा के गन्नु
निर्बल चरीलाई एक्लै देखेर गुलेली ताके
मानवताले कोल्टो फेरेको प्राणीलाई के भन्नु

अ:
मन त सङ्गै तारा टोलाउने थियो,
जन्ते बाख्रो सारा बोलाउने थियो,
जाबो इनार के खन्नु बोरिङ धसाएर..
मुटुभित्र मायाको धारा खोलाउने थियो।

ऋ:
त्यो बोरिङको पानी अरुले नै पिउन थालेछन्
त्यो मुटुको घाउ अरुले नै सिउन थालेछन्
संगै लाखौँ तारा गनौँला भन्नेहरुले
अरुकै सपनामा रंगिन जीवन जिउन थालेछन्

अ:
मुटुको घाउ मुटुले नै सिलाउँछ भने,
मनका बह एकएक गर्दै बिलाउँछ भने,
सपना देख्न त्यति सारो डराउनु हुन्न..
आफ्नै सम्झी विषै सही पिलाउँछ भने।

ऋ:
सपना देखुँला, सँगै पुरा गर्न आउँछौ भने
बाटो खनुँला, हात समाई हिँड्न आउँछौ भने
मनका बह सबै फुकाउन तयार छु म
सम्हालेर फेरी मनैमा राखिदिन आउँछौ भने

अ:
हुन्छ भन हातमा सुनको बालो लगाइदिम्ला,
घरमा जन्ती स्वयंवरको मालो लगाइदिम्ला,
हाँसो रोदन विद्याकसम एक्लै झेल्ने छैनौ..
कपाल फुली सेती हुँदा कालो लगाइदिम्ला।

ऋ:
कृष्णजी होइन, तिमी मेरा राम बनिदिनु
मिथिलामा कुरी बस्दा “जाम्” भनिदिनु
घोर्ले खसी मेरो नाममा ढाल्नुपर्दैन,
बस् रासन लिन जाँदा मेरो पनि नाम गनिदिनु

अ:
नाम होइन बरु थरै लैजाऊ,
सानोतिनो जे छ घरै लैजाऊ,
चौतारीमा कुरी बस्नु झट्टै आउँछु अनि..
हात समाऊ बेस्सरी परै लैजाऊ।

ऋ:
दिनरात के भन्नु, हर पहर सजाउँला
तिम्रा मेरा कल्पनाका रहर भिजाउँला
एउटा सानो घरमा नै के मन बुझाउनु
तिमी राजा हुने एउटा सहर फिजाउँला

अ:
लौ त नि मनका चार कुना तिम्रो भयो,
सुर्के गाँठो मायाको तुना तिम्रो भयो,
शहरको हैन रहरको राजा बनाउँछौ भने..
उबेलाको मदन म, मुना तिम्रो भयो।

ऋ:
तर फेरी मन चिसिँदै ढुंगा भयो भने
पारी नपुग्दै डुबिजाने डुंगा भयो भने
पछि मृगतृष्णामा भुलेझैं यदि भुल्नु परे
अरुकै शिरमा सजिजाने थुंगा भयो भने...

अ:
म ईश्वर हुने थिएँ त ढुङ्गा बनाउँथिन,
हिँड्दा हिँड्दै बीचमै डुब्ने डुङ्गा बनाउँथिन,
प्रेम हुन्थ्यो सर्वत्र छुट्ने थिएन केही कारण..
एक्लो निरस भासिएको बुङ्गा बनाउँथिन।

ऋ:
कर्कलाको पातबाट शीत झरेझैं
कुसुमको रुमालमा न्यानो प्रीत छरेझैं
धेरैपछि गुम्सिएको आकाश खुला भो
कौरवबाट पाण्डवतिर जीत सरेझैं

अ:
आकाश आफ्नो होस् धर्ती आफ्नो होस्,
शितल सबै तिम्रो बरु जर्ती आफ्नो होस्,
ठोक्किन त लाखौंसँग ठोकिन्छ बटुवा नि..
ढोका खुल्दा मनमुटुको भर्ती आफ्नो होस्।

ऋ:
राग भए जाँतोको नि सुनको हातो हुँदो रहेछ
बैरी द्वेषबाट बचाउने पनि छातो हुँदो रहेछ
मानसराज्यमा कसैले झण्डा गाडेपछि
ठिहिर्याउने जाडोको हिउँ पनि तातो हुँदो रहेछ

अ:
विस्तारै तिमीलाई मेरो बानी पर्ला है,
उराठलाग्दो मरुभूमीमा पानी पर्ला है,
सबैबाट जोगाएर अगाडि बढाउँछु..
हुन्छ भन पछि फेरि हैरानी पर्ला है।

ऋ:
तिमीले पनि उहि शिव पार्वती पुज्दैनौ र
कहिलेकाहिॅं मेरा सम्झनासँग जुझ्दैनौ र
उत्तर त मैले कहिले पो ‘हुन्छ’ भनिसकें
यी मेरा आँखाका भाषा तिमी बुझ्दैनौ र?

अ:
शिव उही पार्वती उही मिलेर पुज्नुपर्छ,
तिम्रा मेरा समस्या अब मिलेर जुझ्नुपर्छ,
इशारा नै काफी भन्नेले त मुटु फेर्छन्..
आँखाका भरमा जिन्दगी मिलेर बुझ्नुपर्छ।

ऋजुता बहिनीसँग Bridge Literatureमा गरिएको मुक्तकिय दोहोरी। 
ऋ : ऋजुता पोखरेल, के. एम्. सी प्रथम वर्ष
अ : अच्युत कंडेल

Comments

Popular posts from this blog

तछाडमछाड..!!

ऊ कहाँ हुन्छ आफ्नो? नजिकै हुन्छ या टाढा?