नसल्किएको खिल्ली
कथा
नसल्किएको खिल्ली
नसल्किएको खिल्ली
साँझको बेला। म चोकमा निस्किएँ। घरभन्दा अलिक परको चोक। दिनभर व्यापार गरेका पसलका सटर स्यार्र र ट्यार्र गरेर बन्द हुँदै थिए। होटलमा २० रूपैयाँ लिन्छन्। किरानामा ५ रूपैयाँ भएपनि सस्तो पाइन्छ। सुनेकै भरमा किराना दौडिएँ। बत्तीको प्रकाश र प्रकृतिको प्रकाश एउटै चहकमा दौडिरहेका थिए।
"साहुजी एक खिल्ली।"
साहुनी अन्योलमा थिइन् - बत्ती बालौं कि नबालौं! बालिन्। निभाइन्।
"बाल्दिनुहोस् साहुनी, ३-४ मिनेटमा बाल्नु परिहाल्छ।"
"पर्याछैन, ३-४ मिनेटपछि नै बाले हुन्छ।" साहुजी कड्किए।
"त्यही ३-४ रूपैयाँको लोभले ग्राहक भड्केको थाहा छैन।" साहुजीकी छोरी पनि कड्किइन्।
"सूर्य दिऊँ कि शिखर भाइ?"
अन्योलता त सरुवा पो रहेछ। अघिको अन्योलता साहुनीले मलाई पो सारिदिइन्।
"सूर्य दिनु न।" उनको अन्योलता मेट्न खोज्दा साहुजी कड्किए पनि मेरो अन्योलता भने उनैले मेटिदिइन्।
"लाइट दिऊँ कि रेड?" अर्को प्रश्न तेर्साए साहुजीले।
प्रश्न हो कि अवसर। अवसर हो कि अन्योलता। अकमक्क परें।
"भाइ पहिलोपल्ट हो?" साहुनीले बम नै खसालिन्। म अक्क न बक्क भएँ।
साहुजीले एउटा खिल्ली अघिल्तिर सार्दै भने - "दुइटैलाई १५ पर्छ।"
सायद यो पटकको अन्योलता साहुजीले नै मेटाइदिए। १५ रूपैयाँमा पनि यति धेरै अवसर आउने रहेछन्। गोजीबाट २० काे नोट निकालेर दिंदै गर्दा साहुनीसँग आँखा जुधे। सायद ती आँखाले नखाऊ भाइ भनेका होलान्। हाड नभएको जिब्रो फुत्किहाल्यो - "साथीको बाउको पैसाबाट खाइएको थियो। आफ्नो बाउको पैसाबाट चैं पहिलोपल्ट हो।"
खै के सोचिन् साहुनीले अघिकै नोट फिर्ता गर्दै भनिन् - "भो, बानी नगर भाइ।"
आँखा रसाउन कस्सिसकेका थिए। खिल्ली त्यहीँ छाडें। २० को नोट समातेँ अनि दौडिएँ। म केही बोलिन। बोल्न नचाहेको पनि होइन। बोली फुटेन। करिब ५ मिनेट लामा लामा पाइलापछि माइला दाइको पसल आयो। बिहानभर भद्र-भलाद्मीलाई कपमा खुवाउँथे। साँझ परेपछि अभद्र-अभलाद्मीलाई सिसामा खुवाउँथे। भद्र-भलाद्मी बाहिर बसेर पत्रिका टकटकाउँथे। अभद्र-अभलाद्मी भित्र बसेर सिन्कामा उचाल्थे। कोही कुखुरा उचाल्थे। कोही खसी उचाल्थे। कोही पाडो उचाल्थे।
"दाइ एक कप चिया।" म भित्र छिरें। धेरै त बिहानकै भद्र-भलाद्मी रहेछन्। मनलाई चुप लगाउन सकिनँ। ओठलाई फुत्कन रोकें।
"चिया अलिक समय लाग्छ है भाइ।"
"हुन्छ, हतार छैन दाइ।"
"चुरोट लिन्छौ?"
"नलिने दाइ।"
"एक कप चिया भुट्दिनु त।" ठट्यौली पारामा रमेशे छिर्यो। रमेश, मेरो कलेजको साथी।
"ए! तँ पनि सुरु गरिस् कि कसो।" देखिहाल्यो मलाई। चुरोट सल्कायो। मेरो छेउमा आएर बस्यो।
"किन, खान नहुने भन्ने छ र मैले?"
"त्यो त छैन, तैपनि"
"खै ले यता"
निस्फिक्री दियो। दुई-तिहाइ भाँचेर ट्रेमा हाल्दिएँ। एक-तिहाइ उसको हातमा थमाइदिएँ।
"खान मन लागे यही बालेर खा। यसको २० रूपैयाँ मेरो नाममा भयो।"
नर्सरीदेखिको साथी, म त्यसरी प्रस्तुत हुन्छु भन्ने सोचेको थिएन उसले। मैलाई त थाहा थिएन म यसरी पनि प्रस्तुत हुन सक्छु भनेर। ऊ केही बोलेन। चिया आयो। खायौं। निस्क्यौं। अहँ! अझै केही बोलेन। "गल्ती भए माफ पाऊँ।" मै बोलें। आ-आफ्ना बाटा लाग्यौं।
घरमा खबर पुगिसकेछ। छोरोले किरानाबाट किन्यो। माइला दाइकोमा छिर्यो। घर पुग्नेबित्तिकै बाले हात सुँघे।
"हो त रहेछ! टाउकोमा चढाएर राखेपछि यस्तै हो।" बा कड्किए।
म बोल्न खोजें।
"भो, पर्दैन बोल्न; तेरा सबै विश्व हल्लाउने काम थाहा पाइसक्याछु। के भनेर मुख देखाउने अब समाजको अगाडि। मास्टरको इज्जत कहाँ पुर्याइस्! अहिलेसम्म कसैले औंलो ठड्याउन सकेको छैन। पिउनको अगाडि शिर निहुराएर हिँड्न पर्ने भयो हैन!"
बा उफ्रिन थाले। बाका गुनासा उफ्रिन थाले। दिमागका चार भित्ता, मनका चार कोठामा। फोक्सोले लामो श्वास फाल्यो। म थुचुक्क बसें। आँखामा खहरे दौडिसकेछ। गाला हुँदै दाह्रीमा बिलाए। दिमागले बाका गुनासा पढ्न थाल्यो। शब्द शब्दलाई भेदन गर्यो। हावामा उडेका अक्षर अक्षरलाई भुइँमा पछार्यो। कुनै अक्षरले च्याँ गरेनन्। किनभने ती अक्षरमा बाका इज्जत थिए। छोरोको फोक्सो थिएन। किनभने ती अक्षरमा बाको समाज थियो। छोरोको स्वास्थ्य थिएन। बा छोरोको बाटो देखेर उफ्रेका रहेनछन्। आफ्नो अजङ्गको शिरको पीरमा उफ्रेका रहेछन्।
धन्न! औंलो ठड्याएरै जिब्रो फड्कार्न दिएनौ।
कहाँ बुझाउन सक्थें होला र, पसले साहुनीले औंलो नठड्याइ बाटो फड्काइदिएको कुरा।
कसरी बुझाउन सक्थें होला र!
तिम्रो सुयोग्य समाजलाई।
Comments
Post a Comment