समय
लेख
समय
समय
सोच्दासोच्दै कहिलेकाहीं यति धेरै सोचिदिन्छु कि, के सोचिराथें भनेर फेरि अर्को खेप सोच्न बाध्य पारिदिन्छ, समय। समय, आफू हरेक निमेष, हरेक पल, हरेक घण्टा, हरेक दिन बिल्कुलै नयाँ पस्किँदै जान्छ। अनि, हामी त्यही नयाँभित्र पुरानिँदै जान्छौं दिन प्रतिदिन। कहिले हजारौं निमेष एक निमेषमै बितेझैं लाग्छ त कहिले एक निमेष बित्न हजारौं निमेषभन्दा बढी लागेझैं बनाइदिन्छ, समय। कोही मनभित्रको मान्छेले '५ मिनेट न आइहालें' भन्दा हामी कम्तिमा १० फेर घडी हेर्छौं। साँच्चै, समयले नै हामीलाई धैर्यता सिकाउँछ। तर, जीवनको गतिले बुर्कुसी मार्न नसकिरहँदा, अहँ समयले कहिल्यै धैर्य गरेन। न त अधैर्यताको पाठ नै सिकायो।
न भोकाएको बेला रोटी दियो, न अघाउने बेला पानी नै सोध्यो। तर पनि भोकाउँदा भोकाउँदै अघाउने बनाइदिंदो रैछ समयले। अनेकौं इच्छा, आकांक्षा अनि सपनाहरू पखेटाले च्यापेर उडान भरिरहँदा, उड्दा उड्दै खसाल्दो रैछ अनि खसाल्दा खसाल्दै उडाइदिंदो रैछ समयले। समय, अहो! कस्तो विचित्रको कहिले हिंड्दा हिंड्दै थेचार्दिन्छ, कहिले थेचार्दा थेचार्दै दौडाइदिन्छ। कहिले योजना बुन्दा बुन्दै उधारिदिन्छ, कहिले भयो अब बुन्दिन भन्दा भन्दै जबरजस्ती बुनिदिन्छ।
अनायसै प्रश्न उब्जिन्छन् मनभित्र, के मज्जा आउँदो हो तँलाई उड्दा उड्दै खसाल्नुमा? हिंड्दा हिंड्दै थेचार्नुमा? बुन्दा बुन्दै उधार्नुमा? कसलाई सोधुँ यी प्रश्न? अर्को प्रश्न उभिन्छ। हातको घडी हेर्छु, घडीभित्रका सुई। यसले के जवाफ देला'र। यसलाई त मैले बाँधेको हुँ। घडी सुस्साउँछ-'मैले तँलाई बाँधेको हुँ।'
😊😊😊
ReplyDelete