मेरो सपना
कविता
देखें जलाउनेहरू
कोही मरेकालाई जलाएर
अस्तु बगाउँछन्
कोही जिउँदा जलाएर
सार्थकता खोज्दछन्।
म सोच्दछु,
जिउँदै जलाएर सार्थकता
अहो! कस्तो आश्चर्य
सोध्दछु,
जिउँदा जलाउनेहरूलाई
कोही दिमागका भित्तामा सजाएर
आँखाभरी छचल्किएका सपनाहरूले
पश्चातापका भाव बोल्दछन्
कोही औंला तेर्साउँछन्
२० मा मरेर
८० मा जलाईंदाको पीडा
म सोच्दछु,
निरर्थक ६०
इच्छा मारेर मिलाइएको
हिसाब गणितको।
सोध्दछु,
धनी- मगन्तनारायणका
गरिब- धनपतिका
सुखी- दुखीरामका
दुखी- सुखीरामका
मारिएका जिउँदा सपनाहरूलाई
सबैका,
तुहिएका सपनाहरू
इशारा गर्दछन्
एकैतिर-
आ-आफ्नै सपनाकार
आकार दिन नसकेका सपनाकार।।
सुइय, सुस्केरा हाल्छ
मेरो मन, मेरो मगज
तर्सिन्छ मेरो सपना
अनेकन सपनाकार देखेर
म सम्झाउँछु,
पराकम्पनले भेट्टाउँछ
फुट्छन् सपनाका फ्रेम
दिमागभित्रै
म बटुल्छु,
जोडजाड पार्छु
बोझिलो हैन ओजिलो
सिकाउँछु अनि
पुनः सजाउँछु
मेरो सपना।।
Comments
Post a Comment