असोज ३, २०७४ सन्दर्भ: संविधान दिवस मेरो जन्मकथा २०६३ माघ १ गते जन्मिएकी मेरी आमा, जन्मँदै लङ्गडो जन्मिएकी थिइन् अरे। घिस्रिन सक्ने, दौडिन नसक्ने मेरी आमाको गर्भमा मलाई राख्न ६०१ जना छानिने भएछन्। मिति तय भयो। २०६४ चैत्र २८ गते। म दङ्ग थिएँ। सोच्दै थिएँ मेरी आमाको आमा, मेरी हजुरआमालाई। २०४७ कार्तिक २३ गते पदार्पण गरेकी मेरी हजुरआमा संसारकै उत्कृष्ट अनि ज्यादै राम्री थिइन् अरे। थोरै जनाको बुद्धिले त त्यति राम्री हजुरआमा जन्मिएकी थिइन् भने म त अब ६०१ जनाको बुद्धि अनि सुन्दरताले भरिपूर्ण हुनेछु। छाती फुल्यो ढक्क। गर्वले, गर्भमा नबस्दै।